Friday, June 10, 2016

प्रधानमन्त्री गृह जिल्लामा, २ अर्बभन्दा बढीका आयोजनाको शिलान्यास

जेष्ठ २८, २०७३- प्रधानमन्त्री केपी ओलीले शुक्रबार आफ्नै निर्वाचन क्षेत्रमा दीर्घकालीन महत्त्वका विकास आयोजनाको शिलान्यास गरेका छन् ।
झापा क्षेत्र नम्बर ७ को दमकमा उनले एकै दिन दुई अर्बभन्दा बढी लागतका विकास आयोजनाको सुरुवात गरेका हुन् । शुक्रबार बिहान आइपुगेका प्रधानमन्त्रीले सुरुमा दमक ६ स्थित दावगाछीमा दमक भ्यु टावरको शिलान्यास गरे । स्थानीयले पाँच बिघा जग्गा उपलब्ध गराएपछि भ्यु टावर निर्माण अघि बढेको हो । एक अर्ब रुपैयाँको लागतमा ७२ मिटर अग्लो भ्यु टावर निर्माण हुने दमक नगरपालिकाले जनाएको छ । भ्यु टावरबाट झापा, मोरङ र इलामका भाग दृश्यावलोकन गर्न सकिन्छ ।
टावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई भोट हाल्न नपाएकाहरू पछुताउने गरी दमकमा विकास योजना सञ्चालन हुन लागेको बताए । लगत्तै उनले दमकबाट मोरङको मधुमल्ला जोड्ने सडकमा पर्ने मावा खोलामा पुल शिलान्यास गरेका छन् । वर्षायाममा त्यहाँका स्थानीयले आवतजावतमा समस्या झेल्दै आएका बेला पुल निर्माण अघि बढेको हो । एमाले नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदादेखि स्थानीयले पुल निर्माणको माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । दुई सय ५० मिटर लामो सो पुल ३० करोड २२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । पाँच वर्षभित्र पूरा हुने पुल ११ मिटर चौडाइको हुने छ ।
प्रधानमन्त्रीले दमक चुलाचुली सडकमा पर्ने रतुवा खोलामा निर्माण हुन लागेको अर्को पुलको पनि शिलान्यास गरेका छन् । दुई सय मिटर लामो सो पुल १५ करोड ६८ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको दमक नगरपालिकाले जनाएको छ । लगातार शिलान्यास कार्यक्रममा सहभागी भएका प्रधानमन्त्रीले अपराहन दमक नगर क्षेत्रभित्र निर्माण हुन लागेको फाल्गुनन्द सभागृहको पनि शिलान्यास गरेका छन् । किरात धर्मगुरु फाल्गुनन्दको योगदानलाई चिरस्थायी बनाइराख्न सो सभागृहको निर्माण हुन लागेको हो । किरात समुदाय समेतको आर्थिक लगानीमा निर्माण हुन लागेको सभागृहको लागत ३५ करोड छ । तीनदेखि पाँच वर्षभित्र पूरा गर्ने गरी त्यसको निर्माण प्रक्रिया अघि बढेको छ । सभागृह करिब दुई हजार मानिस अट्ने क्षमताको हुने छ ।

No comments:

Post a Comment